नयाँ शक्ति भन्नेहरु ‘होहल्ला’, नेकपा हो नयाँ: प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गरे। दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारे।

उनले भने,नयाँ र पुरानाका कुरा छन्। आजभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरुलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ। नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन्। नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो। किनकी यो गणतन्त्रको वाहक हो।

संघीयताको वाहक हो। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारुलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी हो नेपाली कम्युनिष्ट पार्टी। आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरु नयाँ हुन् रु ति सबैभन्दा पुराना हुन् । ति दलाल पुँजीपति र विचौलियाहरुको इसारामा चल्नेहरु कसरी नयाँ हुनसक्छन् ?

प्रचण्डले नेकपा नै नयाँ भएकाले टोलटोलमा गएर जनतालाई त्यो सन्देश पुर्याउनुपर्ने पनि बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने पार्टी पूरानो नहुने पनि स्पष्ट पारे।

उनले भने, ‘तपाईंहरुले जनतालाई भनिदिनुस्, घरघरमा गएर, टोल टोलमा गएर नयाँ भनेको नेपाली कम्युनिष्ट पार्टी हो । जसले जनताको हक अधिकार र पहिचानको लडाईं लड्यो। जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो।

त्यो चाहीँ पुरानो रे । दलाल र विचौलियाहरुको गुणगान गाउने ति चाहीँ नयाँ रु तपाईंहरुले जनतालाई भनिदिनुपर्यो राम्रैसँग। नयाँ केलाई भन्ने जसको विचार, एजेण्डा नयाँ छ त्यही नयाँ हो। जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो।

संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताए। देश अहिले संकटमा रहेको पनि बताए। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै तथाकथित नयाँ भन्नेहरुकै कारण देश संकटमा रहेको टिप्पणी गरे।