देश बचाउन चुनावमा होमिएका हौं: राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभए पनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चूनावले देशको समस्या समाधान गर्न नसकेपनि देशलाई थप संकटबाट बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका हुन्।
नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नव युवा पुस्ताको बीच नविनतम सम्झौता नभइ मुलुकको समस्या समाधान हुन नसक्ने उनले बताए।
लिङ्देनले एउटा प्रजातान्त्रिक पार्टी हुनको नाताले विद्रोहमा जानुभन्दा चुनावलाई उपयोग गर्ने भनेर चुनावमा सहभागी भएको धारणा राखे।
उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको बताए। राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे। लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे।
