टी-२० विश्वकपः इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
काठमाडौं। आईसीसी टी-२० विश्वकपमा २०२६ को आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित भएको छ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याट्सम्यान लोकेश बम क्रिजमा रहे पनि जित दिलाउन सकेनन्।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएका थिए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि, छैटौं ओभरमा कुशल भुर्तेल पनि पवेलियन फर्किए। भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्कासहित २९ रन जोडेका थिए।
दुवै ओपनर आउट भएपछि नेपाल ४२र२ को स्थितिमा पुगेको थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए। तेस्रो विकेटका लागि उनीहरूले ८२ रनको साझेदारी गरे, जसले इंग्ल्यान्डलाई केही समय दबाबमा राखेको थियो।
तर १५औं ओभरमा दीपेन्द्रलाई साम करनले आउट गरेपछि तेस्रो विकेट गुमियो। नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए।
कप्तान रोहित पौडेलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाएर आउट भए। आरिफ शेखले ८ बलमा १० रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका लियम डसनले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। इंग्ल्यान्डका ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। विल ज्याक्सले १८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै अविजित ३९ रन बनाए।
नेपालका शेर मल्लले ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दा इंग्ल्यान्डले पहिलो विकेट चाँडै गुमाएको थियो। ५७र३ को स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिश इनिङ्स सम्हाले।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
