अण्डाको मूल्यमा भारी गिरावट,समर्थन मूल्य घटाइयो
चितवन। नेपालमा अण्डाको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, घरेलु उत्पादन बढ्नुका साथै भारतबाट अण्डा आयात बढेपछि मूल्य घटेको हो।
अब समर्थन मूल्य अनुसार ३० वटा ठूलो अण्डा रु ३७५ र मिडियम अण्डा रु ३३५ कायम गरिएको छ। तुलनात्मक रूपमा, माघ २२ गते ठूलो अण्डा रु ४३५ र मिडियम रु ४०५ थियो भने माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो।
गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो भने मझौलाको मूल्य रु ५५० थियो।
पोखरेलका अनुसार, भारतीय सेतो अण्डा बजारमा धेरै भित्रिएको र घरेलु उत्पादन बढेका कारण नेपाली अण्डाले उचित मूल्य पाउन सकेको छैन। उनले भारतीय अण्डा रोक्न सरकारसँग निरन्तर माग गरिरहेको जानकारी पनि दिए।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार प्रतिक्रेटको लागत मूल्य पाँच सय ७४ रुपैयाँ ३५ पैसा पुग्छ। यस आधारमा मूल्य लागतसँग नजिक पुगेको अवस्थामा पुनः मूल्य घटेपछि किसानहरू निराश बनेका छन्।
सङ्घले देशभरका फार्मबाट सङ्कलन गरेको मूल्यलाई आधार मानेर चितवनको मूल्य निर्धारण गरी अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ।
