तीनवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौँ। नवलपुरमा तीनवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग.प्र.०४-००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३-०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र. ०४-००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४-००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ। उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उनको मृत्यु भएको गुरुङले बताए।
दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया परमेश्वरी महतो र छोरा ४ वर्षीय जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती–११ का २५ वर्षीय दिपक महतो भनि चिनिने घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ।

