२५ वर्षमा २६ लाख पर्यटक पुगे अन्नपूर्ण क्षेत्र
गण्डकी। विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को तथ्याङ्क अनुसार सन् २००१ देखि २०२५ सम्मको अवधिमा यो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। सन् २०२५ मा मात्रै हालसम्मकै सबैभन्दा धेरै २ लाख ९९ हजार ८३१ पर्यटकले यस क्षेत्रको भ्रमण गरेर नयाँ रेकर्ड कायम गरेका छन्।
सन् २००१ मा करिब ६५ हजार पर्यटक आएकोमा यो सङ्ख्या उतारचढावबीच बढ्दो क्रममा देखिएको छ। सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटकको सङ्ख्या १ लाख नाघेको थियो।
सन् २०१५ को भूकम्प र सन् २०२०–२१ को कोरोना महामारीका कारण केही वर्ष पर्यटक आगमनमा भारी गिरावट आए पनि त्यसयताको वृद्धिदर लोभलाग्दो छ। कोरोना महामारीका बेला सन् २०२१ मा सबैभन्दा कम १६ हजार १०५ पर्यटक मात्रै यस क्षेत्रमा पुगेका थिए।
गत वर्ष भित्रिएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका मात्रै १ लाख ७७ हजारभन्दा बढी रहेका छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रजस्ता आकर्षक गन्तव्यका कारण यहाँ पर्यटकको आकर्षण बढेको एक्यापका प्रमुख डा। रबिन कडरियाले जानकारी दिए।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनको अवलोकनका लागि अन्नपूर्ण क्षेत्र विदेशी मात्र नभई आन्तरिक पर्यटकका लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ।
आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहमा फैलिएको यो क्षेत्र पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक हो। पदयात्राका लागि आवश्यक पूर्वाधार र स्थानीयको आतिथ्यले गर्दा यो क्षेत्रको पर्यटन व्यवसाय थप फस्टाउँदै गएको छ।

