जिब्रोले मिठो रोज्दा ज्यान र सम्पत्ति सिध्याउँदै नेपाली,अब चाँहि सचेत हुने कि ?
रुषा थापा
नेपाली रोगी हुने क्रम वर्षेनी बढिरहेको छ । हरेक मानिसलाई केही न केही रोगले च्यापेको छ । सुगर, प्रेसर, थाइराइड, बार्थ त सामान्य बनिसकेको छ भने मिर्गौला, फोक्सो, कलेजो, मस्तिक, क्यान्सर, आन्द्रा, हड्डीलगायत रोगबाट सिकार हुने पनि बढ्दो क्रममा छन् । यी रोग जन्मजात होइन, मानिसको अस्वस्थ खानपान, जीवनशैली, अल्छीपनजस्ता कारणले निम्तिएको हो ।
रोग लागेपछि उपचार गर्नैपर्छ । तर, यी रोगको उपचार निकै महँगो छ । लाखदेखि करोडौंसम्म लाग्छ । अनि गरिब मानिसहरु यस्ता रोग लागेपछि मर्नुबाहेक विकल्प हुँदैन । किन नेपालीहरु रोगी बन्दैछन् त ? केही दशकअघिसम्म यस्ता रोगको नामसमेत नसुनेका नेपाली अहिले कसरी यसैबाट पीडित बनिरहेका छन् ? यो गम्भीर विषय हो ।
अहिले हाम्रो भान्छा पाक्ने हरेक खानेकुरा छिमेक भारतसहित तेस्रो मुलुकबाट आयात हुन्छ । त्यहाँ विषादी हालेर उत्पादन गरिएका खाद्यान्न, तरकारी हामी महँगो शुल्क तिरेर खाइरहेका छौं । देशभित्रै पनि विषादीको प्रयोग बढ्दो छ । हामीले खाने प्रायजसो खानेकुरामा शरीरलाई हानि पुर्याउने केमिकल, रंग, अजीना मोटोजस्ता अखाद्य वस्तुहरु मिसाएको पाइन्छ ।
बाहिरबाट आकर्षक र मिठो देखिने, खाएपछि रोग लाग्ने भइरहेको छ । दुर्भाग्य, यो कुरा हामी नेपालीले बुझ्न सकेनौं । हामी राम्रो देख्नेबित्तिकै किनेर खाइहाल्छौं । त्यसबाट शरीरमा पर्ने हानिबारे सोच्दैनौं । जसले गर्दा आज हामी रोगी बनेका छौं । उद्योगी, व्यवसायीहरुले आफ्ना फाइदाका निम्ति गुणस्तरहीन र केमिकल मिसाएर वस्तु उत्पादन गर्छन् ।
हामी चर्को शुल्क हालेर किन्छौं, खान्छौं अनि रोगी बन्छौं । नेपालमा केही वर्षयता पानीपुरी, चटपटे खाने एकदमै बढेका छन् । एक प्लेटकै ७० देखि एक सय रुपैयाँसम्म तिरेर खाने गरिन्छ । तर, पानीपुरीको पुरी कस्तो तेलमा तारिएको हुन्छ ? झोल कस्तो पानीले र के हालेर बनाइन्छ ? चटपटेमा के के हालिन्छ ? र, त्यो खान मिल्छ कि मिल्देन ? भन्नेमा आम नागरिक बेखबर देखिन्छन् ।
डोनट पसलमा एउटै तेलमा डोनटदेखि निम्की, आलु चिप्स, सेल, समोसा, पकौडालगायत बनाइन्छ । डोनट एउटाको १५ देखि ३५ रुपैयाँसम्म पर्छ । निम्की एक पाउको ७० देखि एक सय, आलु चिप्स डेढ सयदेखि दुई सय, सेल ३५ रुपैयाँदेखि ७० रुपैयाँ, समोसा ३० देखि ५० रुपैयाँ र पकौडा एक प्लेटको ६० देखि एक सय रुपैयाँसम्म पर्छ ।
केक, पाउरोटी, बममा अत्याधिक रुपमा सोडाको प्रयोग गरिएको हुन्छ । सँगै राम्रो देखाउन रंग पनि हालिन्छ । केक एउटाको पाँच सयदेखि हजारौं रुपैयाँसम्म पर्छ भने पाउरोटी र बम ७० देखि डेढ सय रुपैयाँसम्म पर्छ । आजकल डेरी पसलहरु छ्यापछ्याप्ती खुलेका छन् । एक लिटर दुध र दहीको डेढ सय रुपैयाँसम्म पर्छ । तर, दुधमा दुध कम पानी बढी हुन्छ त दही कहिल्यैदेखिको बासी बेचिन्छ ।
घिउमा पनि तेल र पिठो मिलाउन थालिएको छ । यसरी बनाइएको घिउको एक किलोकै ११ सयदेखि १३ सय रुपैयाँसम्म लिइन्छ । घरेलु होस् या सिलप्याक मदिरा बजारमा जताजतै बेच्न राखिएको भेटिन्छ । व्यापारीहरुले कोदोबाट बनाएको भन्दै घरेलु मदिरा बेच्छन् । जसको एक मानाकै एक सयदेखि तीन सय रुपैयाँसम्म असुलिन्छ । तर, त्यो मदिरा फोहोर जुत्ता, मोजा, कपडा, युरिया मल, भैंसी, राँगाको हड्डीलगायतबाट बनाइएको पाइन्छ ।
सिलप्याक मदिरामा पनि शरीरमा हानि पुर्याउने वस्तु मिसाइएको हुन्छ । जसले सजिलै हड्डी खियाउनुका साथै कलेजो, फोक्सो, मिर्गौला, मुटुसम्म सिध्याउँछ । मिठाई जोकोहीलाई मन पर्छ । चाडपर्व आउँदा होस् या नआउँदा पनि नेपालीहरु मिठाई खान्छन् । मिठाईको हेरीहेरी मूल्य हुन्छ । एक बट्टा मिठाईको पाँच सयदेखि हजारौसम्म पर्छ । तर, मिठाई केले बनाउँछ ? बनाउने ठाउँ कस्तो छ ? भनेर किनेर खाने अधिकांशलाई थाहा हुँदैन ।
यदि मिठाई बनाउने ठाउँ र मिठाईमा प्रयोग गरिने सामग्रीबारे जनतालाई थाहा हुन्थ्यो भने मिठाईको व्यापार ठप्प हुनेछ । जाडो होस् या गर्मीयाममा कोक, फन्ट, रेड बुल, फुर्टीजस्ता पेय पदार्थ पिउन नेपालीहरु धेरै नै रुचाउँछन् । तर, यी पेय पदार्थ के हालेर बनाइएको छ ? कसैलाई थाहा भएको पाइँदैन । शरीरमा हानि पुर्याउने केमिकल प्रयोग गरेर पेय पदार्थ बनाइन्छ । हामी मिठो मानेर पिउँछौं ।
नेपालमा माछामासुको खपत पनि बढी हुने गरेको छ । छिमेकसहितका देशबाट खसी, कुखुरा, बाख्रा, भेडा, माछा आयात गरिन्छ । यी मासुको एक किलोकै पाँच सयदेखि दुई हजारसम्म पर्छ । माछामासु खाएमा शरीर स्वस्थ रहनुका साथै शक्ति दिने चिकित्सकहरु बताउँछन् । तर, पछिल्लो समय माछामासुबाटै रोग निम्तिरहेको छ ।
व्यापारीहरुले आफ्नो फाइदाका निम्ति महिनौं दिनदेखिको बासी, रोगी, मरेका खसी, बोका, कुखुरा, राँगा, माछा बेच्ने गरेका छन् । जसका कारण रोग निम्तिरहेको छ । सरकार भन्छ–गुणस्तरहीन खाद्यान्न बेच्न पाइँदैन । विषादी प्रयोग गर्न मिल्दैन । बढी नाफा लिन पाइँदैन । तर, हामी कहाँ सरकारकै आँखाअगाडि व्यापारी वा विदेशीले आफ्नो लाभका निम्ति यसो गरिरहँदा राज्य निरीह छ । गुणस्तरहीन, म्याद सकिएका सामान बेच्ने तथा बढी मूल्य असुल्ने व्यापारीलाई कारबाही गरिन्छ न विदेशीले विषादी हाली उब्जनी गरेर पठाएका खाद्यान्न उतै फिर्ता पठाइन्छ। यतिसम्म कि खाद्यान्नको गुणस्तर वा विषादीसमेत परीक्षण गरिँदैन ।
आफ्ना नागरिकलाई जोसुकैले ठगेपनि वा मारेपनि सरकारलाई मतलब छैन । त्यसैले, अब जनता आफैं सचेत हौं । बाहिरबाट आकर्षक वा मिठो हुने भएकै कारण शरीरलाई हानि पुर्याउने वस्तु किनेर नखाऔं । हामी मिठो लागेर खान्छन् तर त्यसबाटै रोगी बनिरहेको पत्तो पाउँदैनन् । यसले एकातिर पैसा पनि सिद्धिन्छ अर्कोतिर रोग पनि लाग्छ । सँगै उपचार गर्दा अर्कौ लाखौं, करोडौं रकम चाहिन्छ ।
सरकार आफैंले स्वास्थ्यको नाममा समेत जनता लुट्ने काम गरेको छ । बीमाको नाममा ३५ सय असुल्यो । तर, उपचार गर्ने बेला बीमा सेवा नै बन्द भएको छ । त्यसकारण जनता सतर्क हौं । किनकि रोग लागेपछि उपचार गर्ने पैसा आफैंले जुटाउनुपर्छ । अस्पतालले दया लागेर सित्तैमा उपचार गर्दैनन् । उपचार गरिदिए पनि औषधि किन्न अर्को पैसा चाहिन्छ ।
फेरि एक चोटि थला परेपछि उठ्न धेरै गाह्रो हुन्छ । यसैले, आफ्नो स्वास्थ्यको ध्यान आफैं राखौं । आफ्नो ज्यानमाथि खेलबाड नगरौं । सरकारले पनि जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेहरुलाई कडा कारबाही गरोस् ।
