ज्येष्ठ नागरिकको स्थिति बदल्नुपर्छ: ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले बदलिँदो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताएका हुन् ।
उनले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको बताए । पुराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ । संघीय सरकार, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
नेता पोखरेलका अनुसार प्रतिष्ठानले व्यवसायिक तथा प्राविधिक शिक्षाको प्रवद्र्धनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नेछ । उनले मनमोहन स्मृति प्रतिष्ठानलाई प्रदेश र जिल्लास्तरमा पनि गठन गर्ने जानकारी दिए । उनले प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्वहरूको विचार र योगदानलाई नयाँ पुस्तासँग लैजाने बताए ।
‘ज्येष्ठ नागरिकहरु समाजका सम्पत्ति हुन, ज्ञानका स्रोत हुन् । ज्येष्ठ नागरिकहरुलाई यो परिवर्तित समाजमा जुन स्थिति झेल्नुपर्दैछ, त्यो बदल्नुपर्छ । ज्येष्ठ नागरिक भनेको समाजका ज्ञानको स्रोत र सम्पती हुन । उनीहरुको सम्मान र संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘ज्येष्ठ नागरिकको क्षेत्रमा हामीले नयाँ ढंगले कतिपय कार्यक्रमहरु आउने दिनमा अगाडि ल्याउनेछौं।
हामी संघीय सरकार, स्थानीय सरकार या अरु संस्थासंग सहकार्य गरेर अगाडि बढ्नेछोँ । मनमोहन स्मृति प्रतिष्ठान प्रदेशस्तरमा पनि हामी विधिवत रूपमा गठन गर्दैछौँ । सम्भव भएका जिल्लाहरूमा पनि गठन गर्छौं । यो संस्थालाई व्यवस्थित ढंगले प्रभावकारी ढंगले तीनवटा क्षेत्रमा काम गर्नेछौँ । लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा योगदान पुर्याउनुहुनेहरूको विचार र योगदानको बारेमा हामी हाइलाइट गर्छौँ ।
व्यवसायिक र प्राविधिक शिक्षालाई अगाडि बढाउन चाहन्छौँ । सामाजिक सुरक्षाका क्षेत्रमा खासगरी जेष्ठ नागरिकहरूको विषयमा केन्द्रित भएर आउने दिनमा हामी आफ्ना कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ।
