फागुन २१ को चुनावमा देशले जित्छ: रवि लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने बताएका छन्। ‘जनसम्पर्क’ कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनी पुगेका लामिछाने फागुन २१ निर्वाचन देशले जित्ने निर्वाचन भएको बताएका हुन्।

उनले भने, ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो।

रास्वपामा बालेन्द्र शाह (बालेन)को टिम समाहित भएको प्रसङ्ग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । ‘हामीले पद बाडेका छैनौँ, जिम्मेवारी विभाजन गरिएको छ,उनले भने। अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनको भनाइ छ ।

लामिछानेले आफूहरूले घोषणापत्र नभई काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरू आफूहरूले पुरा गर्ने जिकिर गरे ।

देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ ।

रास्वपा रुपन्देहीका सभापति डा। बुद्धि प्रसाद शर्माले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने छन् । त्यसक्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न कार्यतालीका रहेको छ।