नयाँ जोखिम उठाउनुपर्छ,पाँच वर्ष खेर नफाली काम गर्नुपर्छ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वाधार विकासमा भइरहेको ढिलासुस्तीको समाधानका लागि पाँच योजना अघि सारेका छन्। उनले आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्ने बताएका छन्।

आमनिर्वाचन नजिकिँदै गर्दा सोमबार भिडियो सार्वजनिक गर्दै थापाले केही नयाँ जोखिम उठानुपर्ने तर्क गरेका छन्। ‘यसका लागि हाम्रो कानूनमा सुधार गर्नु पर्नेछ। हाम्रो संस्थागत क्षमता बढाउनु पर्नेछ। हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नु पर्नेछ। केही फाइनाइन्सको नयाँ मोडेलहरू हामीले अभ्यास गर्नुपर्ने छ,सभापति थापाले भनेका छन्,केही नयाँ जोखिमहरू हामीले उठाउनु पर्नेछ।’

कानूनमा सुधार, संस्थागत क्षमता वृद्धि, काम गर्ने शैलीमा परिवर्तन, नयाँ वित्तीय मोडल,निजी क्षेत्रसँग विश्वासको सहकार्यलगायत विषयमा जोड दिएका छन्। उनले पूर्वाधार निर्माणलाई तीव्र पार्न कानून सुधारमा जोड दिएका छन्।

सडक ऐन ४८ वर्ष पुरानो भएको र सडकसम्बन्धी नियमावली अझै नबनेकाले समस्या देखिएको भन्दै उनले २० वर्ष पुरानो सार्वजनिक खरिद ऐनमा पनि प्रश्न उठाएका छन्। उनले योजनाको छनोटमै कहिले राजनीतिक हस्तक्षेप त कहिले अन्य दबाबले समस्या भएको बताएका छन्।

सभापति थापाले चौथो योजनाअनुरूप सुशासन र पारदर्शितामा जोड दिएका छन्। योजनाअनुरूप स्रोत सुनिश्चित नगरी आयोजना शुरु गर्ने अभ्यास कानूनबाटै रोक्नुपर्ने उनको भनाइ छ।