फेरि बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?

काठमाडौं। लगातार अस्थिर रहेको सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार १०० रुपैयाँले बढेको छ।

सोमबार स्थानीय बजारमा सुन ३ लाख ४ हजार ६०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ।आइतबार सुनको मूल्य ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको थियो।

अघिल्लो साता ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यसपछि घट्न थालेको थियो।घटेर २ लाख ८६ हजार ४ सय रुपैयाँसम्म पुगेको मूल्य फेरि बढ्न थालेको हो। यसरी सुनको मूल्य निकै अस्थिर हुँदा लगानीकर्ता अन्योलमा परेका छन्।

यस्तै, सोमबार चाँदी तोलामा २४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।