टिकटकले ३ महिनामा नेपालबाट हटायो २८ लाख भिडियाे

काठमाडौं । टिकटकले नेपालमा मापदण्डविपरीतका भिडियाे हटाउने कार्य तीव्र बनाएको छ । सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा कम्पनीले नेपालबाट अपलोड भएका करिब २८ लाख भिडिओ हटाएको आफ्नो कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टमा उल्लेख गरेको छ ।

यो अवधिमा हटाइएका भिडियाे मध्ये ९९.७ प्रतिशत प्रोएक्टिभ रूपमा (स्वचालित प्रणालीबाट) हटाइएका थिए भने ९८ प्रतिशत २४ घण्टाभित्रै हटाइएका थिए । नेपालमा राजनीतिक उथलपुथल निम्त्याउने जेनजी आन्दोलन सेप्टेम्बरमा चर्किएको थियो, जसका कारण मिथ्या तथा भ्रामक सामग्रीको बाढी आएको थियो ।

हटाइएका धेरै भिडियाेहरू सो आन्दोलनसँग जोडिएका हुन सक्ने अनुमान गरिएको छ । टिकटकको यो प्रवृत्ति बढ्दो छ । सन् २०२५ को दोस्रो त्रैमासिक (एप्रिल–जुन) मा २४ लाख ७६ हजार ३४५ भिडियाे हटाइएको थियो, जुन पहिलो त्रैमासिक (जनवरी–मार्च) को तुलनामा करिब ३२ प्रतिशत बढी हो । पहिलो त्रैमासिकको तुलनामा दोस्रोमा झन्डै ६ लाख बढी भिडियाे हटाइएको थियो ।

अधिकांश भिडियाेहरू अटोमेटेड डिटेक्शन सिस्टम मार्फत हटाइन्छन् । मानव समीक्षामा मापदण्डविपरीत नभएका फेला परे पुनः राखिन्छन् । हटाइने सामग्रीमा संवेदनशील र वयस्क सामग्री, गोपनीयता र सुरक्षा उल्लङ्घन, हिंसा, घृणा फैलाउने, मानसिक स्वास्थ्यविपरीत, मिथ्या सूचना तथा एआई सम्पादित भ्रामकभिडियाेहरू पर्छन् । टिकटकले उल्लङ्घन गर्ने अकाउन्ट बन्द गर्ने, लाइभ रोक्ने र कमेन्ट हटाउने पनि गर्दै आएको छ ।

उन्नत प्रविधि र हजारौँ मोडरेटरको सहयोगमा यो कार्य भइरहेको छ । निर्वाचनको सन्दर्भमा टिकटकले मिसइन्फर्मेसन नियन्त्रणमा विशेष जोड दिएको छ । मिथ्या सामग्री हटाउने, लेबल गर्ने वा फर यू फीडबाट लुकाउने जस्ता उपाय अपनाइन्छ ।

नेपालको निर्वाचन आयोगसँग माघ २१ मा सम्झौता भएको थियो, जसले चुनावी मिथ्या सामग्री हटाउन सहज बनाएको छ । आयोगले दैनिक ब्रीफिङमा नकारात्मक सामग्रीबारे टिकटकलाई हटाउन अनुरोध गरेको थियो । नेपाल प्रहरीको साइबर ब्यूरोले पनि टिकटकको रिपोर्टिङ पोर्टलमार्फत सहयोग गर्छ । टिकटकले इन-एप इलेक्शन सेन्टर स्थापना गरेको छ, जसले मतदानसम्बन्धी आधिकारिक जानकारी उपलब्ध गराउँछ । यसले सुसूचित सहभागिता बढाउने, शान्तिपूर्ण वातावरण कायम राख्ने तथा सुरक्षित डिजिटल अभिव्यक्ति प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

दक्षिण एशियाका लागि टिकटकका नीति प्रमुख फेर्दौस मोत्ताकिनले यो सहकार्यलाई महत्त्वपूर्ण भनेका छन् । नेपालमा टिकटकमाथि सन् २०२३ नोभेम्बरमा प्रतिबन्ध लगाएको थियो । जसलाई ‘सामाजिक सद्भावमा खलल’ को कारण देखाइएको थियो । यसले अभिव्यक्ति स्वतन्त्रता हनन र आर्थिक असर पारेको आलोचना भएको थियो । नौ महिनापछि सन् २०२४ अगस्टमा सामाजिक सञ्जाल निर्देशिका पालना गर्ने प्रतिबद्धतापछि प्रतिबन्ध फुकुवा गरिएको थियो।