टुँडिखेलमा अमेरिकी सेनाको परेड

काठमाडौं। नेपाली सेनाको २६३औं स्थापना दिवस (सेना दिवस) तथा महाशिवरात्रिको अवसरमा टुँडिखेल सैनिक मञ्चमा आयोजित भव्य समारोहमा अमेरिकी सेनाको ब्यान्ड टोलीको प्रस्तुति देखिएपछि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो भाइरल भएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा यो घटनालाई लिएर राजनीतिक बहस चर्किएको छ।

सामाजिक सञ्जालमा फैलिएका सामग्रीहरूमा अमेरिकी सैनिकहरूले आफ्नो राष्ट्रिय झन्डा बोकेर परेड खेलेको, नेपाली सेनासँग संयुक्त मार्चपास गरेको र ब्यान्ड बजाएर नृत्य प्रस्तुत गरेको देखिन्छ। केहीले यसलाई ‘जेनजी आन्दोलन’ जस्ता घटनासँग जोड्दै पश्चिमी शक्तिको नेपालमा बढ्दो प्रभावको प्रमाण मानेका छन्। उनीहरूले यो केवल ब्यान्ड प्रस्तुति मात्र नभई राजनीतिक प्रभाव विस्तारको एक हिस्सा भएको बताएका छन्।

तर नेपाली सेनाले यसलाई खण्डन गरेको छ। प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,यो नियमित तथा पारस्परिक सैन्य सहकार्यको अभ्यास हो। सेना दिवसमा विभिन्न मित्र राष्ट्रका ब्यान्ड टोलीहरूले मैत्रीपूर्ण सहभागिता जनाउँदै आएका छन्। हामी पनि भारत, अमेरिका लगायतका देशमा यस्तै प्रस्तुति दिन्छौं।

उनले भारतको सेना दिवसमा नेपाली ब्यान्ड टोली गएको र नेपाली भाषामै उद्घोष भएको उदाहरण दिए । जङ्गी अड्डाले जारी गरेको विज्ञप्तिमा पनि यो ‘आर्मी टु आर्मी’ सहयोगअन्तर्गतको नियमित कार्यक्रम भएको उल्लेख छ। नेपाल र अमेरिकाबीच सन् १९४७ देखि नै सैन्य सम्बन्ध छ। नेपाली अधिकृतहरू अमेरिकाको स्टाफ कलेजमा अध्ययन गर्छन्, संयुक्त अभ्यास हुन्छन् र युवा आदानप्रदान कार्यक्रम सञ्चालन हुन्छन्। भारत, चीन, बेलायत, पाकिस्तान जस्ता देशहरूसँग पनि नेपालले यस्तै संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। गणतन्त्रकालमा विभिन्न सरकारहरूको पालामा पनि यस्ता कार्यक्रम नियमित थिए।

निर्वाचन नजिकिँदै गर्दा यो घटनाले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। सरकार तथा सेना निकट पक्षले यसलाई ‘विगतकै निरन्तरता’ भन्दै भ्रम फैलाउन नहुने बताएका छन्। केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको समयमा पनि यस्ता कार्यक्रम भएका थिए।