जमानतमा छुटेका व्यक्तिले एकै रात गरे ६ जनाको हत्या,दुई परिवार नै सखाप

भारत। भारतको तेलंगाना राज्यको रंगारेड्डी जिल्लामा हृदयविदारक घटना भएको छ। पोक्सो ऐन अन्तर्गतको मुद्दामा जमानतमा छुटेका एक आरोपीले एकै रात दुई परिवारका ६ जनाको हत्या गरेका छन् । प्रहरीले दिएको जानकारीअनुसार आरोपीले पहिले आफूमाथि मुद्दा दर्ता गराउने नाबालिग किशोरी र उनको परिवारलाई निशाना बनाए। त्यसपछि आफ्नै घर फर्किएर श्रीमती र दुई साना छोराको समेत हत्या गरे। घटना गरिसकेपछि आरोपी फरार रहेका छन्।

यस्तो छ घटनाको पृष्ठभूमि

३५ वर्षीय आरोपी राजु कुमार पोक्सो मुद्दामा जमानतमा छुटेका थिए। घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये नाबालिग किशोरी,उनकी ४२ वर्षीया आमा, ६० वर्षीया हजुरआमा, आरोपीकी ३१ वर्षीया श्रीमती तथा उनका ४ वर्ष र १८ महिनाका दुई छोरा छन्। यसै वर्ष मे महिनामा नाबालिग किशोरीको परिवारले आरोपीविरुद्ध पछ्याउने (स्टकिङ) आरोपमा मुद्दा दर्ता गराएको थियो। प्रहरीले यही विषयलाई हत्याको मुख्य कारण मानेको छ।

यसरी सुरु भयो रक्तपात

प्रहरीका अनुसार शुक्रबार राति करिब १०ः४५ बजे राजु कुमार आफ्नो गाउँ रायवलगुडाबाट करिब ६ किलोमिटर टाढा रहेको शबद पुगे, जहाँ नाबालिग किशोरीको परिवार बस्दै आएको थियो। घरको ढोका खोल्ने बित्तिकै उनले किशोरीकी आमामाथि चक्कु प्रहार गरे । त्यसपछि घरभित्र पसेर सुतिरहेकी ६० वर्षीया हजुरआमाको पनि हत्या गरे। घरमा रहेकी किशोरीकी २० वर्षीया मानसिक रूपमा अशक्त दिदीलाई भने उनले कुनै हानि पुर्‍याएनन् ।

नाबालिगलाई अपहरणपछि झिल किनारमा हत्या

घरभित्र दुई जनाको हत्या गरेपछि आरोपीले नाबालिग किशोरीलाई जबर्जस्ती आफ्नो कारमा राखेर गाउँ नजिकैको झिल किनारमा लगे । त्यहाँ चक्कु प्रहार गरी उनको हत्या गरे र शव झिलको बाँध नजिकै फालेर फरार भए।

६ मिनेटमै आफ्नै श्रीमती र दुई छोराको हत्या

किशोरीको हत्या गरेपछि राति ११ः२१ बजे राजु आफ्नै घर पुगे। अनुसन्धानकर्ताका अनुसार उनी घरभित्र केवल ६ मिनेट मात्र बसे । यही अवधिमा उनले सुतिरहेका आफ्नी श्रीमती र दुई साना छोराको घाँटी रेटेर हत्या गरे।

बुवालाई फोन गर्दै भने, ‘मैले सबैलाई मारिसकें’

घटना घटाइ सकेपछि आरोपीले शबदमा रहेका आफ्ना बुवालाई फोन गरी आफूले दुवै परिवारका सबैलाई मारिसकेको र अब आत्महत्या गर्न लागेको बताएका थिए। छोराको कुरा सुनेपछि आत्तिएका उनका आमाबुवाले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सबै ६ शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ।