मुगुमा चुनावी चहलपहल तीव्र, कसले मार्ला बाजी ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर हिमाली जिल्ला मुगुमा चुनावी चहलपहल तीव्र बनेको छ । विशेषगरी पुराना र अनुभवी राजनीतिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने चर्चाले जिल्लाको चुनावी माहोल तातेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा यसपटक ३६ हजार ३१ जना मतदाता छन्,जसका लागि चार स्थानीय तहमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्रहरू तोकिएका छन्।

निर्वाचनका लागि चुनावी मैदानमा नेपाली कांग्रेसबाट खड्गबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णबहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओवादी) का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल पनि प्रतिस्पर्धामा उत्रिएका छन्।

रास्वपाका उम्मेदवार टमाटाले आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गरिरहँदा अन्य स्थापित दलका नेताहरूले पनि आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै मतदाता फकाउन व्यस्त छन्।

चुनावी मैदानमा रहेका उम्मेदवारहरूको पृष्ठभूमि पनि रोचक छ। विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका खड्गबहादुर शाही यसपटक प्रतिनिधिसभा सदस्यका लागि भाग्य अजमाउँदै छन्।

एमाले उम्मेदवार पूर्णबहादुर रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख हुन् । उता नेकपाका चन्द्रबहादुर शाही भने २०५६ सालको संसदीय निर्वाचनमा विजयी हुनुका साथै २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारी मन्त्री भइसकेका अनुभवी नेता हुन्।

विगतको मत परिणामलाई हेर्दा मुगुमा दलहरूबीचको मतान्तर निकै कम देखिन्छ । विसं २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले आठ हजार ६४३ मत ल्याएर पहिलो भएको थियो भने कांग्रेस आठ हजार ४४० मतसहित दोस्रो स्थानमा थियो।

सोही समयमा माओवादी केन्द्रले चार हजार ६५० र एकीकृत समाजवादीले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । हाल माओवादी र समाजवादीबीच एकता भएर ‘नेकपा’ बनेकाले यो शक्ति पनि मुख्य प्रतिस्पर्धामा रहने देखिन्छ।

यसअघि २०७९ को निर्वाचनमा ७४ प्रतिशत मतदान भएको मुगुमा प्रत्यक्षतर्फको परिणाम भने फरक थियो । त्यतिबेला माओवादी, एकीकृत समाजवादी र कांग्रेसबीच गठबन्धन हुँदा कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याएका थिए । यसपटकको बदलिएको राजनीतिक समीकरण र चुनावी चहलपहलले मुगुको नतिजा कता जान्छ भन्ने कौतुहलता झन् बढाएको छ।