पशुपतिनाथ र वैद्यनाथधाम जोड्न भारतले ‘हाई-स्पीड करिडोर’ बनाउने

काठमाडौं। भारत सरकारले पशुपतिनाथ र बैजनाथधाम जोड्न नयाँ सडक करिडोर निर्माण गर्ने भएको छ । नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको हो।

भारतीय सरकारले भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिइसकेको छ। यो जानकारी बिहारका सडक निर्माण मन्त्री डा। दिलीप जैसवालले गत मंगलबार विधानसभामा दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। सन् २०२६÷२७ को बिहारको बजेटमा यो सडक निर्माणका लागि ८२ अर्ब ६० करोड भारु विनियोजन गरिएको छ।

प्रस्तावित करिडोर पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर काठमाडौंबाट सुरु हुनेछ। र भीमनगर, वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ । त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामसम्म पुग्ने छ ।

प्रस्तावित ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि बनिरहेको पुल भएर गुज्रिनेछ, जसको निर्माण कार्य जारी छ । यो करिडोर करिब २४० किलोमिटर लामो हुने बताइएको छ। करिब सात महिना अगाडि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी यो करिडोर प्रस्ताव गरेका थिए।

श्रावणी मेला र काँवर यात्राका क्रममा ठुलो संख्यामा श्रद्धालुहरू सुल्तानगञ्जबाट जल लिएर पैदल बैजनाथधाम जान्छन्। कतिपय भारतीय तिर्थयात्रीहरू पशुपतिनाथ मन्दिर दर्शनका लागि पनि आउँछन्। यो करिडोर बनेपछि श्रद्धालुहरूका लागि सुरक्षित र सहज यात्रा सुनिश्चित हुने र धार्मिक पर्यटक बढ्ने विश्वास गरिएको छ।