विदेश पठाइदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ६ का धर्मप्रसाद राई, सोही नगरपालिका -५ का गोविन्दप्रसाद निरौला, काठमाडौँको तारकेश्वर नगरपालिकाकी निमा डोल्मा लामा र गोरखाको गण्डकी नगरपालिकाका सुरजबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका राईले अस्ट्रिया पठाइदिने भन्दै पाँच लाख ८५ हजार, निरौलाले टर्की पठाइदिने भन्दै दुई लाख, लामाले बेलायत पठाइदिने भन्दै ५० लाख र श्रेष्ठले रोमानिया पठाइदिने भन्दै साढे सात लाख रुपैयाँ ठगी गरेका थिए।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि चारै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।