जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ

झापा। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल,म्याग्जिन र गोली झापाको कन्काई नगरपालिका–८ मिश्रा टोलबाट बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको सीएफ ९८९ एमएम पेस्तोल १ थान, ४० राउण्ड गोली र म्याग्जिन १ थान बरामद भएको हो।

उक्त पेस्तोल र गोली स्थानीय तुलबहादु थापा मगरको घर पछाडि कुखुराको खोरमा लुकाई राखेको अवस्थामा भेटिएको हो। प्रहरीले तुलबहादुरको घरमा लागुऔषध लुकाइरहेको थाहा पाएपछि छापा मारेको थियो । तर लागुऔषध खोज्दा प्रहरीबाट लुटिएको पेस्तोल भेटिएको शो ।

प्रहरीले उक्त पेस्तोल बरामद भएपछि सुजय राजवंशीलाई पक्राउ गरेको छ। उक्त हतियार सुजयले नै भदौ २४ गत प्रहरी कार्यालयबाट लुटपाट गरेको पुष्टि भएको छ।

तर उक्त पेस्तोल लुकाउने काममा संलग्न तुलबहादुर थापाका छोरा सौगात थापा मगर भने फरार भएका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान र कारबाही भइरहेको खड्काले बताए।