टी-२० विश्वकप: चौथो खेलमा दीपेन्द्रको अर्धशतकमा नेपालको पहिलो जित

काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ। दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपाल आफ्नो पहिलो जित निकाल्न सफल भएको हो ।

मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।

यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरेका थिए।

त्यस्तै मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए। यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए।

पहिलो १० ओभरमा १ विकेट मात्र गुमाएर ८० रन बनाएको स्कटल्यान्डले त्यसपछि १० ओभरमा ९० रन जोड्दा ६ विकेट गुमाएको थियो ।

सुरुवाती १० ओभरमा स्कटिङ ब्याटरले नेपाली बलरमाथि डोमिनेट गरेपनि पहिलो विकेट लिएपछि भने नेपालले खेलमा केही दबाब सिर्जना गरेको थियो । १० ओभरपछि भने खेलमा नेपालले डोमिनेट गरेको थियो ।

ओपनरद्वय माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै स्कटल्यान्डका लागि राम्रो सुरुवात दिलाएका थिए ।

नेपालका लागि चार बलरले विकेट लिन नसकेपछि कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै ब्रेक थ्रो दिलाएका थिए । आठौं ओभरमा आएका रोहितले ६ रन दिएका थिए भने दशौँ ओभरको अन्तिम बलमा ओपनर जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । मुन्सेले २९ बल खेल्दै ४ चौका मदतमा २७ रन बनाए ।

दोस्रो विकेटका लागि पनि माइकल जोन्सले ब्राण्ड म्याकुमलेनसँग अर्धशतकिय ५२ रन साझेदारी गरे ।

 अन्तिम पाँच ओभरमा नेपाली बलरले लगातार विकेट लिँदै स्कटल्यान्ड दबाबमा राख्यो । सोमपालले एक ओभरमा दुई विकेट लिएपछि नेपालले हरेक ओभरमा विकेट लिएको थियो । नेपालले अन्तिम ओभर ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चेको थियो । यस विश्वकपमा डेथ ओभरमा नेपालको यो उत्कृष्ट बलिङ हो ।

१६औं ओभरमा दोस्रो स्पेल लिएर आएका सोमपालले एकै ओभरमा दुई विकेट लिए। उनले अर्धशतक बनाएर अघि बढिरहेका माइकल जोन्सलाई १६औं ओभरको दोस्रो बलमा बोल्ड गरे भने त्यसपछि चौथो बलमा म्याकमुलेनलाई कट एण्ड बोल्ड गरे । म्याकुलमलाई १५ रन हुँदा सन्दिप जोराले क्याच ड्रप गरेका थिए । तर सोमपालले भने आफ्नै बलिङमा विकेट लिए ।

यो दुई विकेट पछि सोमपाल टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक ९ विकेट लिने खेलाडी बने। यसअघि दीपेन्द्र सिंह ऐरी ८ विकेटसहित अघि थिए।

१७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याचआउट गराए । बेरिङटनले ६ बलमा १० रन बनाएर आउट भए।

१८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रस ४ रन लाई बोल्ड गरे। सोमपालले १९औं ओभरको चौथो बलमा टम ब्रुस ५ लाई बोल्ड गर्दै व्यक्तिगत तेस्रो र टिमको छैटौं सफलता दिलाए। नन्दनले २०औं ओभरमा माइकल लिस्कलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए।

मार्क वाटले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे। बलिङमा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए।