सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री

काठमाडौं। नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ। निर्वाचन पूर्वतयारीअन्तर्गत सेनाले हाल निर्वाचन सामग्री ढुवानी गरिरहेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार अहिलेसम्म ४३ जिल्लामा सामग्री पुगिसकेको छ।

४३ जिल्लामा निर्वाचन सामग्री पुगिसकेको छ, बाँकी जिल्लामा पनि ढुवानी जारी छ,” सहायक रथी बस्नेतले बताए।

उनका अनुसार हाल १२ जिल्लामा सामग्री ढुवानी भइरहेको छ भने त्यसपछि बाँकी २२ जिल्लामा सामग्री पुर्‍याइनेछ।

हिमाली जिल्लामा हवाईमार्फत ढुवानी

तीन हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा सेनाले हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गरेको छ । डोल्पामा आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत सामग्री पुर्‍याइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

स्काई ट्रकमार्फत मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगीन मतदाता नामावलीलगायतका सामग्री डोल्पा पुर्‍याइएको हो । सेनाले अब मनाङ र मुस्ताङमा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गर्ने तयारी गरेको जनाएको छ।