सहकारी ठगलाई कार्वाही गरि पीडितहरुको पैसा फिर्ता गर्नुपर्छ: कुलमान घिसिङ

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहकारी ठगहरुलाई कानुनी कार्वाही गरी पीडितहरुको पैसा फिर्ता गर्नुपर्ने बताएका छन्।

सो पार्टीले आज भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले मीटरब्याजी, लघुवित्त,सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरुको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्छ।

सहकारी ठगीको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गरी उहाँले ठगमाथि कार्वाही र पीडितको बचत फिर्ता गर्नुपर्ने बताए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि।का हजारौं बचतकर्ताको ७८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनामा रास्वपा अध्यक्ष लामिछाने मुछिएका छन्। उनकै नाममा २ करोड कर्जा देखिए पनि साँवा ब्याज तिरेका छैनन् । लामिछानेबिरुद्ध रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरणलगायतका मुद्धा चलिरहेको छ।

पूर्वमन्त्री समेत रहेका अध्यक्ष घिसिङ लामिछाने नेतृत्वको रास्वपामा सक्रिय भएपनि समानुपातिक तर्फका उमेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने क्रममा बेथिति देखेपछि बाहिरिएर उज्यालो नेपाल पार्टीको नेतृत्व लिएको हो। घिसिङले उज्यालो नेपाल सबैभन्दा नयाँ र उर्जाशील पार्टी भएको दावी गरेका छन्।
जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको जिकिर गर्दै उहाँले सहकारी ठगीबाट किसान र विपन्न मर्कामा परेको र पीडितहरुको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने आफूहरुको एजेण्डा रहेको उल्लेख गरे।

पार्टीका केन्द्रीय सदस्य किरण विकले उज्यालो नेपाल पार्टीले सबैभन्दा योग्य उम्मेदवार जनतासमक्ष पठाएको बताए। जेनजी आन्दोलनको म्याण्डेट, मर्मलाई स्वीकार्ने सबैभन्दा पहिलो नेता कुलमान घिसिङ भएको विकको भनाइ थियो । रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सरोज सिंह चौधरी राजनीतिक स्थायीत्व र देशलाई निकास दिनका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको बताए।