रास्वपा मकवानपुरका सभापतिले छोडे पार्टी,फर्किए कांग्रेसमा
हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी पुरानै घर नेपाली कांग्रेसमा फर्किएका हुन्। रास्वपा मकवानपुरले आज हेटौँडा उपमहानगरपालिका-४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्।
पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराएका छन् । पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए । कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन्।
उनले भनेका छन्, ‘समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भने, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो।
मनहरी गाउँपालिका घर भएका पराजुली ६ मंसिर २०८१ मा भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रुपमा पुनस् सभापति चयन भएका थिए । पुरानो दल नेपाली कांग्रेस छोडेर उनी रास्वपामा नेतृत्व लिन पुगेका थिए।
उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पराजुलीले १२ हजार ३९ मत ल्याएर तेस्रो भएका थिए । यस क्षेत्रबाट नेकपा एमालेका महेश बर्तौला ३४ हजार ९ सय १६ मत ल्याउँदै ४ हजार ५२० मतान्तरसहित विजयी भएका थिए । तत्कालीन नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ३९६ मत पाएका थिए।
पराजुली २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनस् उम्मेदवार हुन चाहान्थे। तर, पार्टी कार्यालय काठमाडौंमा टिकट लिन पुगेका थिए । तर पार्टीले प्रशान्त उप्रेतीले टिकट दिएको थियो।
पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका उनी कांग्रेस मकवानपुरका शीर्ष नेताहरुसँग संवादमा थिए। पराजुली नेपाली कांग्रेसका पुराना नेता हुन् । शालिन र भद्र स्वभावका उनले जिल्लाको पश्चिमी क्षेत्रमा राम्रो राजनीतिक छवि स्थापित गरेका छन्।
