टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु, इन्सपेक्टर घाइते

धनुषा । धनुषामा एक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको ज्यान गएको छ। मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका–९ बस्ने, इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीमा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा कार्यरत करिब २६ वर्षीया प्रहरी जवान चन्द्रकला कुमारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा लेखा प्रमुखको रूपमा कार्यरत प्रहरी निरीक्षक विजय कुमार यादव घाइते भएका छन्।

घटनास्थल जनकपुरधाम उपमहानगरपालिका–४, विश्वकर्माचोकदेखि जिरोमाईलतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ क ०१०४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश–२–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

घाइते चन्द्रकलालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।

मृतक चन्द्रकला सरकारी कामकाजको सिलसिलामा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएकी थिइन्।

दुवै सवारी साधन र टिपर चालक, धनुषाको मिथिला नगरपालिका–२, आनन्दपुर बस्ने ३० वर्षीय सुनिल रविदास, जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा छन्। उक्त स्थान प्रहरी चौकी जिरोमाईलबाट करिब १ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।