निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकलाई सटल बस सुविधा

काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै उक्त जानकारी दिएको हो। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन हुने जनाइएको छ।

बोर्डले निर्वाचनका दौरान पनि नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहने उल्लेख गर्दै आवश्यक समन्वय सरोकारवाला निकायसँग भइरहेको जनाएको छ।

निर्वाचनको दिन विमानस्थल–होटल आवतजावत सहज बनाउन सटल बस सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सवारी पासको व्यवस्था गरिने बोर्डले जनाएको छ । यसका लागि आवश्यक सिफारिसपत्र उपलब्ध गराउन बोर्डले सम्पर्क व्यक्ति तोकेको छ।

बोर्डका अनुसार निर्वाचनअघि ७२ घण्टादेखि सीमानाका बन्द रहनेछन्। यद्यपि, निर्वाचनको दिन देशभरिका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा प्रमुख ऐतिहासिक स्थलहरू भने खुला रहने जनाइएको छ।