धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु
धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलबार अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायणको पूजा भइरहेको बेला घर नजिकै अचानक चट्याङ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पूजामा सहभागी पाहुनामध्ये तीन जना चट्याङबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले जानकारी दिए।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि तत्कालै आरुघाट स्वास्थ्य केन्द्र, गोरखा पठाइएको थियो। उपचारकै क्रममा गोरखाको शहीद लखन गाउँपालिका–८ निवासी कृष्ण घर्ती मगरकी १४ वर्षीया छोरी विनिसा घर्ती मगरलाई साँझ ५ः१४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही घटनामा विनिसाकी दिदी करिब १५ वर्षीया दिक्षा घर्ती मगर तथा भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय वीरेन्द्र थापा मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी साँझ ५ः५० बजे इलाका प्रहरी कार्यालय आरुघाटमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सल्यानटार बाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
