पूर्वसहकर्मीहरूको प्रतिस्पर्धाले तताएको कर्णालीका चार निर्वाचन क्षेत्र

सुर्खेत। २१ फागुनको प्रतिनिधिसभा चुनावमा कर्णालीका चार वटा निर्वाचन क्षेत्र विशेष चर्चामा छ। कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतका दुई निर्वाचन क्षेत्रसहित कालिकोट र रुकुम पश्चिमको निर्वाचनमा आम कर्णालीवासीको ध्यान तानेको छ।

सुर्खेतका सदाबहार उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का र पूर्व केन्द्रीय सदस्य हृदयराम थानी उम्मेदवार नभए पछि यहाँको निर्वाचन परिणाम के होला भन्ने चर्चा छ। एक एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिम र कालिकोटमा पूर्व सहकर्मीहरूको प्रतिस्पर्धाले चर्चा पाएको छ।

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही र नेकपा माओवादीका खड्काबहादुर विश्वकर्मा र रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुर्वमन्त्री जनार्दन शर्मा र नेकपाबाट शर्माकै कार्यकर्ता गोपाल शर्मा आमनेसामने छन्।

जनार्दनले तत्कालीन नेकपा माओवादी पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन्। पूर्व सहकमर्कीहरुको प्रतिस्पर्धा र कांग्रेसका ‘हेवीवेट’ खड्का र थानीको उम्मेदवारी विनाको निर्वाचनले धेरैको ध्यान खिचेको छ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा २०४८ सालदेखि उम्मेदवार बन्दै आएका नेपाली कांग्रेसका पूर्व उपसभापति खड्का र २०५१ सालबाट सुर्खेत क्षेत्र नम्बर दुईबाट उम्मेदवार बन्दै आएका पूर्व केन्द्रीय सदस्य थानी यो पटकको चुनावमा उम्मेदवार छैनन्।

नेपाली कांग्रेसबाट दुवै जनाले चुनाव लड्दै आएका थिए। २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा निर्वाचितका खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भए। २०७४ सालको निर्वाचनमा बाम गठबन्धन हुँदा एमालेका धुव्रकुमार साहीसँग पराजितका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई फेरि संसद् प्रवेश गरे।

पूर्व मन्त्री थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बनेका थानीले २०५६, २०६४ र २०७९ सालमा निर्वाचन जितेर सांसद भएका थिए भने २०५१, २०७० र २०७४ मा हार व्यहोरेका थिए। अहिले सुर्खेत एकबाट खड्काका भाइ विष्णुबहादुर खड्का र दुईबाट थानीका विश्वासपात्र नारायण कुमार कोइराला उम्मेदवार बनेका छन्।

यी दुवै क्षेत्रमा कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका उम्मेदवारले चुनौती दिएका छन्। सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको साङ्गठनिक पकड बलियो भए पनि खड्का र थानीविनाको निर्वाचनले यहाँको माहोल तताएको छ।

सुर्खेत क्षेत्र नम्बर एकमा नेपाली कांग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह र दुईमा वीरेन्द्रनगर नगर कार्य समितिका पूर्व सचिव रमेशकुमार सापकोटा रास्वपा बाट उम्मेदवार बनेका छन्।

नेकपा एमालेबाट क्षेत्र नम्बर एकमा धुब्रकुमार शाही र दुईबाट कुलमणि देवकोटा चुनावी मैदानमा छन्। नेकपाले एकमा जितबहादुर राना र दुईमा झकबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसले सहजै जित निकाल्न सक्ने सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसकै पूर्व सहकर्मीहरूबिचको प्रतिस्पर्धाले आगामी निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा आम मतदातामा चासो बढेको छ।

कांग्रेसले विगतका दिनमा सुर्खेतको विकासमा खेलेको भूमिका, नयाँ अनुहारका उम्मेदवार, सङ्गठनको बलियो पकड लगायतका कारणले दुवै क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ।

नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले आम मतदाता कांग्रेसलाई विजयी गराउन लागेको दाबी गरे। ‘मतदातामा कांग्रेस जिताउने उत्साह छ’ उनले भने,कांग्रेसभित्रको एकताले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा सहजै जित निकाल्न सकिने अवस्था छ।रास्वपाका उम्मेदवारले कांग्रेसका भोट काट्न सके आफूले जित हाँसिल गर्नेमा एमालेका उम्मेदवारहरू आशावादी छन्।

‘वाक्युद्ध’मा महेन्द्र–प्रकाण्ड

कर्णालीको अर्को चर्चित निर्वाचन क्षेत्र हो, कालिकोट। यहाँ पनि पूर्व सहकर्मी खड्काबहादुर विश्वकर्मा र महेन्द्र बहादुर शाहीको प्रतिस्पर्धाले यो क्षेत्र चर्चामा आएको हो। विश्वकर्मा २०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट विजयी भएका हुन्।

उतीबेला भारी मतान्तरले विजयी भएका बिक १८ वर्ष पछि संसदीय प्रक्रियामा दोहोरिएका हुन्। २०७० साल यताका सबै चुनावमा उम्मेदवार बनेका कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुनः उम्मेदवार बनेपछि यहाँ नेकपालाई विरासत जोगाउने र अन्य दललाई महेन्द्रको एकाधिकार तोड्ने होडबाजी चलेको छ।

कालिकोटमा महेन्द्र र खड्काबहादुर विश्वकर्माबिच जिल्लाको विकासको जस लिने होडबाजी चलेको छ। दुवै उम्मेदवार एक अर्कामा आरोप प्रत्यारोप पनि त्यत्तिकै चलिरहेको छ।

चुनाव प्रचारमा बिले नेकपाका सबै नेताहरू आफ्नो अगाडि ‘बच्चा’ भएको भन्दै उनले केही गर्न नसक्ने टिप्पणी गरेका थिए। एक अर्को कार्यक्रममा महेन्द्र शाहीलाई लक्षित गर्दै पटक पटक चुनाव जितेर गए पनि केही गर्न नसक्ने ‘लफङगा’ हरू फेरी आश्वासन बाँड्दै आएको भनेपछि यी दुई उम्मेद्वारबीच वाक्युद्ध चलेको छ।

जवाफमा महेन्द्र शाहीले कालिकोटका सबै पालिकामा सडक सञ्जाल बिस्तार गरेकोले त्यही बाटोमा गाडि कुदाउँदै गाली गर्न लाज मान्नु पर्ने बताएका थिए।

कालिकोटमा नेकपा र नेकपा माओवादीबिचको टकरावले कांग्रेस एमालेलाई फाइदा हुने आङ्कलन पनि गरिएको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ कालिकोटमा पहिलो दल बनेको तत्कालीन नेकपा माओवादी केन्द्रसँग तत्कालीन एकीकृत समाजवादी थपिएपछि थप बलियो बन्न सक्ने आङ्कलन गरिएको थियो।

नेकपाका अधिकतम भोट खड्काबहादुरले काट्न सकने अघिल्लो निर्वाचनमा झिनो मतले दोस्रो बनेको एमाले र तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई फाइदा पुग्ने छ।

एमाले पृष्ठभूमिका प्रकाश न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसभित्रको बलियो एकताले निर्वाचन परिणाम कांग्रेसको पोल्टामा पर्ने कांग्रेसले विश्वास लिएको छ। चुनावी परिणाम आङ्कलन गर्न सहज नभए पनि जिल्लमा दलहरूको प्रतिस्पर्धाले निर्वाचन क्षेत्रलाई भने चर्चित बनाएको छ।

रुकुम पश्चिम पनि चर्चामा

शान्ति प्रक्रियापछि लगायतार रुकुमबाट चुनाव जित्दै आएका जनार्दन शर्मा आफ्नै कार्यकर्ता गोपाल शर्मासँग प्रतिस्पर्धा गरिरहेका छन्। जर्नादन शर्मा आफै संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुराना आफ्नै कार्यकर्ता गोपाल शर्मासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

तत्कालीन माओवादी केन्द्रमा रहेका दुवै जना यो पटक प्रतिद्वन्द्वी बनेका हुन्। जनार्दन नेकपा माओवादी केन्द्रको उपमहासचिव हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन्। रुकुम पश्चिममा उनलाई नेकपा एमालेले साथ दिएको छ।

गोपाल शर्मा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य थिए। माओवादीको बलियो साङ्गठनिक पकडलाई नेकपाले चुनाव जित्ने आधार मानेको छ।

जनार्दनले माओवादी सङ्गठनकै बलमा यस अघिका चुनाव जित्दै आएकोले आगामी निर्वाचन पनि नेकपाले जित्ने दाबी गरेको छ। जनार्दनको प्रभाव क्षेत्र मानिएको रुकुम पश्चिममा नेकपा एमालेले साथ दिए पछि जनार्दनले आफ्नो प्रभावलाई कायम राख्दै जित निकाल्न सक्ने अड्कलबाजीहरू पनि चलेका छन्। एमाले उम्मेदवारविहीन हुनु, नेकपाको मत प्रलोपालाई जाने र यो बिचमा कांग्रेसले जितको मौका पाउने चर्चा पनि चलेको छ।