सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण
सुनसरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा बुधवार मतदान स्थलको अनुगमन सुरु गरेका हुन्।
निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अवस्थाको स्थलगत निरीक्षण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
नेपाल–भारतसँग सीमा जोडिएको सुनसरीको बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकामा रहेका मतदान स्थलको निरीक्षण अनुगमन गरिएको उनले बताए।
मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपत्कालीन अवस्था अवस्थाबारे जानकारी लिनका लागि अनुगमन निरीक्षण गरिएको प्रजिअ घिमिरेले बताए। निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुनसरीका सुरक्षा अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउँदै निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए।
