मतदाता परिचयपत्र छैन,ढुक्कसँग यी विकल्पबाट भोट हाल्नुहोस्

सांकेतिक तस्वीर

काठमाडौं। निर्वाचनमा मतदाता नामावलीमा नाम भएका नागरिकले मतदाता परिचयपत्र साथमा नभए पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोग र गृह मन्त्रालयको समन्वयमा कुनै पनि आधिकारिक सरकारी कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ र ८४ अनुसार, मतदाताले मतदान केन्द्रमा जाँदा आफ्नो मतदाता परिचयपत्र अनिवार्य लैजानुपर्ने प्रावधान छ । तर, विशेष परिस्थितिका कारण परिचयपत्र साथमा नभएका मतदातालाई मध्यनजर गर्दै वैकल्पिक व्यवस्था गरिएको छ ।

जसमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), सवारी चालक अनुमतिपत्र देखाएको मतदान गर्न पाइनेछ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार, मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका व्यक्तिलाई मतदानबाट वञ्चित नगर्न निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई जानकारी गराइसकिएको छ ।

साथै, गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन र यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।