शक्तिबहादुर बस्नेत र डा.निकोलस भुसाललाई २५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गर्ने निर्णय गरेको छ ।
केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो।
त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो । बिहीवार केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिए।
आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही स्वरुप २५ हजार रुपैया जरिवाना तिराउने नर्णय गरेको हो ।
उनले भने, ‘आचारसंहिता उल्लङ्घनको उजुरी परेका छन् । उजुरी परेर मात्र पनि हुँदैन आयोगलाई कारबाही गर्नको लागि प्रमाण पनि चाहिन्छ । मान्छेले कसैलाई दुःख दिनको लागि पनि बिना प्रमाण अरुको नाम पोलिदिन पनि सक्छ।
अहिले हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौँ । दुई जना कर्मचारीलाई सचेत गराएका छौँ। अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टिकरण सोधेका छौँ । केन्द्रिय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टिकरण सोधिएको छ ।’
आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए। तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए ।
निर्वाचन आचारसंहिताविपरित एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ । आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनमा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारवाही आयोग आफैं पनि सक्रिय हुनसक्ने चेतावनी दिए।
