मलाई चितवन ३ सँग जोड्नु रेणु र ममाथिको अन्याय होः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन्। आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताएका हुन्।
दाहालले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पारे। चितवन ३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गरे।
उनले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताए। रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उनको प्रचारको मुख्य आधार भएको दाहालको भनाइ छ।
उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीको संयोजक चितवन ३ मा केन्द्रित भयो भन्नेकुरा बिल्कुल गलत कुरा भन्नुभयो तपाईले । म गएको पनि छैन निर्वाचन प्रक्रिया शुरु भएदेखि चितवन ३ मा रेणु दाहालले त्यहाँ ९ वर्षमा गरेको काम नै उनको लागि प्रचारको मुख्य आधार भएको कुरा मलाई लाग्छ तपाईहरुले देखिराख्नु भएको छ। त्यसकारण मलाई लगेर त्यहाँ जोड्नु जबर्जस्ती गलत हुन्छ । म माथि अन्याय हो, त्यो रेणु माथि पनि अन्याय हो । रेणुले गरेको कामप्रति पनि अन्याय हो भन्ने लाग्छ।
दाहालले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हस्तक्षेप नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताए।
