रूकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले यस्तो बताएमा हुन् । नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताए।
आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै उनले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहो¥याए। उनले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गरे। निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताए।
विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको दाबी गरे। नेता शर्माले रुकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गरे। रुकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेण्डा नै जितको मुख्य आधार रहेको उनको ठहर छ।
उनले भने, ‘मैले रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु। हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो । सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो। रुकुमको विकास र सामाजिक न्यायलाई जिताउनका लागि आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु।
