रास्वपालाई ठूलो धक्का: निर्वाचनको मुखैमा क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का काठमाडौँ क्षेत्र नम्बर ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्वप्रति असन्तुष्टि जनाउँदै गत मंगलबार उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।
यसैगरी वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाई, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रही आएकोमा पार्टीभित्र पछिल्लो समय देखिएका बेतिथिहरू सुधार गर्न प्रयासरत हुँदाहुँदै पार्टी नेतृत्वले सुधार गर्नुको सट्टा अनियमितता बढाउँदै लगेको महसुस भएको राजीनामापत्रमा उल्लेख छ।
राजीनामापत्रमा भनिएको छ,‘प्राइमरी पद्धतिबाट उम्मेदवार छनोट प्रक्रिया गर्ने क्रममा आवरणमा आर्थिक अनियमितता व्याप्त रहेको अवस्था छ । लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने हाम्रो चाहानामा पार्टीले आघात पुर्याएको तथा पार्टीका गतिविधिबाट स्थानीय तहमा निराशा भएकोले आजकै मितिबाट लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा पेस गरेका हौँ।


