सर्लाही–रौतहटमा निर्वाचन सुरक्षा थप सुदृढ,अनुभवी एसएसपी काफ्ले मैदानमा
काठमाडौं। तराईका संवेदनशील मानिने सर्लाही र रौतहट जिल्लामा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई दुवै जिल्लाको सुरक्षा कमाण्डको जिम्मेवारी दिएको हो।
अनुभव र कार्यक्षमताका आधारमा पठाइएका काफ्लेले यसअघि बारा जिल्लामा सुरक्षा व्यवस्थापन सम्हाल्दा प्रभावकारी कमाण्ड प्रस्तुत गरेका थिए। बारा जस्तो संवेदनशील क्षेत्रमा सफल सुरक्षा रणनीति कार्यान्वयन गरेका उनले निर्वाचन अवधिमा सम्भावित चुनौती नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए। सोही अनुभवका आधारमा यसपटक सर्लाही र रौतहटजस्ता उच्च जोखिमयुक्त क्षेत्रमा उनलाई खटाइएको प्रहरी स्रोतको भनाइ छ।
केन्द्रीय प्रहरी प्रवक्ताका अनुसार, यसपटकको निर्वाचन सुरक्षालाई परम्परागत शैलीभन्दा फरक ढंगले ‘स्मार्ट’ र ‘डायनामिक’ बनाइएको छ। सम्भावित सुरक्षा चुनौती, आपराधिक गतिविधि, समूहगत झडप तथा निर्वाचन बिथोल्ने प्रयासलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाइएको छ। सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिनुका साथै आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरिएको छ।
निर्वाचन अवधिमा मतदान केन्द्रको सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी, सवारी साधनको व्यवस्थापन तथा स्थानीय प्रशासन र प्रहरीबीचको समन्वयलाई प्राथमिकतामा राखिएको छ। सीमावर्ती क्षेत्रहरूमा विशेष चेकजाँच, गस्ती तथा सूचना संकलनलाई थप तीव्र बनाइएको प्रहरीको भनाइ छ।
एसएसपी काफ्लेले आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सबै सुरक्षा निकायबीच सहकार्य बढाउँदै निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन केन्द्रित हुने बताएका छन्। उनले स्थानीय तह, राजनीतिक दल तथा सर्वसाधारणसँग सहकार्य गर्दै शान्तिपूर्ण वातावरण कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तराईका यी दुई जिल्लामा विगतका निर्वाचनहरूमा देखिएका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यसपटक थप कडाइका साथ सुरक्षा योजना लागू गरिएको छ। अनुभवी कमाण्डरको नेतृत्वमा सर्लाही र रौतहटमा निर्वाचन सुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
