रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन्। रोल्पा सदरमुकाम लिबाङको टुँडिखेलमा शनिवार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक अपिल गर्नेछन्।

प्रचण्डको सचिवालयका अनुसार, चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै निर्णायक सन्देशसहित सम्बोधन गर्ने योजना रहेको छ। यो उनको चुनावी अभियानको महत्त्वपूर्ण कार्यक्रम हो।

कार्यक्रमलाई भव्य बनाउन नेकपाले व्यापक तयारी गरेको छ। करिब १५ हजार मानिसले प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ। १० वर्षे जनयुद्धका क्रममा प्रचण्डले रोल्पामा नै बढी समय बिताएका थिए। यस पटक उनी रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् भने उनको विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार छन्।

लिबाङको चुनावी सभालाई संयोजक प्रचण्डसँगै वर्षमान पुन, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।