कर्णाली डेभलपमेन्ट बैङ्कका तत्कालीन पाँच पदाधिकारीलाई स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा.ओम प्रकाश मिश्रसहित पाँच जना पदाधिकारीलाई स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
नेपाल राष्ट्र बैङ्कको वित्तीय संस्था सुपरिवेक्षण विभागले जारी गरेको सूचनाअनुसार तत्कालीन अध्यक्ष डा.मिश्र तथा सञ्चालक सदस्यहरू युवराज अधिकारी,उषा कुमारी भण्डारी,टंकबहादुर बस्नेत र निसार अहमद दर्जीलाई पदबाट बर्खास्त नगर्नुपर्ने कारण भए १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरिएको थियो। तर तोकिएको अवधिमा कुनै जवाफ प्राप्त नभएपछि पुनः सूचना प्रकाशित गरिएको जनाइएको छ।
राष्ट्र बैङ्कले सम्बन्धित व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र वित्तीय संस्था सुपरिवेक्षण विभाग बालुवाटार काठमाडौं, नेपाल राष्ट्र बैङ्क नेपालगञ्ज कार्यालय वा कर्णाली डेभलपमेन्ट बैङ्कको केन्द्रीय कार्यालय नेपालगञ्जमध्ये कुनै एक स्थानमा उपस्थित भई आफ्नो सफाइ तथा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरे प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने राष्ट्र बैङ्कले जनाएको छ।
