बख्तरबन्द गाडीसहित गस्तीमा नेपाली सेना

रौतहट । रौतहटमा निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले पैदल, मोटरसाइकल, विभिन्न सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ।

निर्वाचनलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक गस्ती तथा निगरानी बढाएको छ। जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गरी सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा सेनाले जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको छ।

मतदान केन्द्रहरू वरपर विशेष निगरानी राखिएको तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जनाएको छ। श्री नारायणदल गण रौतहटका सबै १७ स्थानीय तहमा तैनाथ रहेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचनका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ।