कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने
काठमाडौं।नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ।चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ।
आज दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।
यस्तै, दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ।
भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कविर राणालाई चुनावी मैदानमा उतारेको छ । यस्तै, पेप्सीकोला टाउनप्लानिङमा पनि चुनावी शभा हुनेछ।
युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने छन्।
दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं– ६ मा जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार छन्। संयुक्त सभालाई पार्टी सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्।
यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ। काठमाडौं ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ।
