इरानको आक्रमणमा परी यूएईमा एक नेपालीको मृत्यु

काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गर्दै गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना विदेशी नागरिकले ज्यान गुमाएका हुन्।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरे। यद्यपि मृतकहरूको पहिचान भने सम्बन्धित निकायले सार्वजनिक गरेको छैन।

रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरेको छ। यूएईको हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोन आकाशमै निष्क्रिय पारे पनि ३५ वटा ड्रोन विभिन्न स्थानमा खसेका थिए।

तीमध्ये २१ वटा ड्रोनले नागरिक बस्ती र भौतिक संरचनालाई लक्षित गर्दा मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ।

आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानलगायत १५ देशका ५८ जना नागरिक घाइते भएका छन्। मन्त्रालयका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ र उपचार भइरहेको छ।