३ जना सवार मोटरसाइकल बससँग ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
सिरहा। सिरहामा बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोकिँदा घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए।
दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल घाइते भएका छन्। मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ।
