अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं। नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न ५ हजार ८५३ जना कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिएका हुन्। घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरूसबै घर फर्किसकेको उनले बताए।

उनले भने,‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको संख्या करिब ५ हजार ८५३ रहेको र समर्थकहरूको संख्या हजारौं रहेको छ। पार्टीले आव्हान गरेको घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीका गएका साथिहरू प्राय सबै घर फर्किसकेका छन्। निष्क्रिय भएका साथिहरू पुनःसंगठित भइ सक्रिय हुने काम जारी छ।

उनले पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ अगाडि बढाएको धारणा राखे। बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने नारा व्यवहारिक रूपमा सफल भएको उनको भनाई छ।

‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजादैंछ। छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ,’ उनले भने।

प्रवक्ता चालिसेले जनताले आशा गरेको स्थिर र जवाफदेही सरकार अब कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरे। निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको उनले बताए।