नयाँ भन्ने पार्टीमा सबै पुराना अनुहार,जनता झुक्याउनमा रास्वपाका नेता–कार्यकर्ता होनहार
अनुसा थापा
नयाँ भनिएको साढे तीन वर्ष पुरानो राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ ले आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । परिवर्तनको लडाइँमा रहेको भन्दै आएको रास्वपाले उठाएको उम्मेदवारहरु अधिकांश अरु पार्टी छोडेर आएकाहरु हुन्।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर रास्वपामा आएकाले १३३ क्षेत्रमा टिकट पाएका छन्। बाँकी ३२ जना मात्रै अरु पार्टी छोडेर नआएका हुन्। टिकट दिनका लागि रास्वपाले तीन करोड रुपैयाँसम्म पैसा लिएको भन्ने विषयमा बजारमा व्यापक चर्चा छ।
मधेशमा टिकट खरिद बिक्री भएको अडियो नै सार्वजनिक भइसकेको छ । एउटा गम्भीर प्रश्न उठ्छ–अरु पार्टी छोडेर भर्खँरै रास्वपा भित्रिएकालाई पार्टीले के हेरेर टिकट दियो ? किन कि, रास्वपाले चुनावमा उठाएको अनुहारहरु जनताले यसअघि नै अन्य पार्टीमा देखिइसकेका छन्।
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाट बदन भण्डारी उठेका छन्। उनी रास्वपामा आएको लामो समय भएको छैन। तर, उनलाई उम्मेदवार बनाइएको छ। २०७० सालको निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार विदुर सापकोटालाई भोट मागेर हिँडेका थिए । २०७४ को निर्वाचनमा एमालेका गोकुल बाँस्कोटाले सो क्षेत्रबाट टिकट पाए।
उनले त्यतिबेला बाँस्कोटाका लागि भोट मागेका थिए । २०७९ को निर्वाचनमा पनि सो क्षेत्रमा बाँस्कोटा नै उम्मेदवार बने। त्यतिबेला पनि उनी बाँस्कोटाका लागि भोट मागेर हिँडेका थिए। अहिले उनलाई रास्वपाले आफ्नो उम्मेदवार बनाएको छ। हिजोसम्म अर्को पार्टीको उम्मेदवारलाई भोट मागेर हिँड्ने व्यक्तिलाई आज रास्वपाले आफ्नो उम्मेदवार बनाएपछि गम्भीर प्रश्न उठेको छ।
बदन त एउटा उदाहरण मात्र हुन् । अन्य धेरै उम्मेदवार यस्ता छन्। हिजो अन्य पार्टीमा बसेर फाइदा उठाउनु उठाए। कमाउनु कमाए। त्यहाँबाट फाइदा उठाएपछि अहिले रास्वपामा आए । पुराना पार्टीमा बसेर कमाएको सम्पत्ति रास्वपालाई दिएर तिनले टिकट लिएका छन्।
अहिले पुरानाले केही गरेनन्, नयाँलाई भोट दिनु भन्दै हिँडेका छन् । जनतालाई यिनीहरुले कति बेवकुफ ठानेको?रास्वपा २०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ता भयो। २०७९ मंसिर ४ गतेको निर्वाचनमा रास्वपाले २० सिट ल्यायो। २० सिट ल्याएको रास्वपाले सरकारमा गएर महत्वपूर्ण र विकासे मन्त्रालय लियो ।
छोटो अवधिमा रास्वपा दुईपटक सरकारमा गयो । तर, देश र जनताका निम्ति सिन्को भाँचेन। आफ्नो कर्तुतहरु लुकाउनका लागि रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सदनमा उभिएर सँधै बार्गेनिङ गरे। आफ्नो पोल खोलेमा, तिमीहरुको भ्रष्टाचारको फाइल खोल्छु भन्दै उनले सदनबाट धम्काइराखे।
निर्वाचन आयोगले उम्मेदवारको योग्यता सार्वजनिक गर्न थालेको छ। यसपटकदेखि नयाँ नीति ल्याइएको हो। उता, उम्मेदवारले बैंक खाता पनि खोल्नुपर्छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार लामिछानेको शैक्षिक योग्यता प्रमाणपत्र तह मात्र छ। रवि पूर्वपत्रकार हुन्।
२०५४ सालअघि नै उनी पत्रकार थिए। त्यतिबेला उनी दरबारनजिक भएर मसाचार संकलन गर्थें। २०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध शुरु गर्यो । देशमा आपतकालीन अवस्था बन्ने भएपछि उनी अमेरिका हानिए। भिजिट भिसामा अमेरिका पुगेका उनको त्यहाँ पनि थुप्रै मुद्दा छ।
२०६६ सालमा उनले नेपाली नागरिकता र राहदानी त्यागेर अमेरिकाको नागरिकता लिए। मुद्दा र घरझमेलाका कारण उनी २०७१ जेठमा नेपाल फर्किए, त्योपनि भिजिट भिसामा। त्यसपछि उनी अमेरिका गएनन्। सरकारी संयन्त्रलाई भ्रमित बनाइराखे। न नेपाली नागरिकता लिए न ऐनकानुन नै टेरें।
जसले आफैंले कानुनको धज्जी उडाइरहेको थियो, उसले टेलिभिजनमार्फत अरुलाई कानुन सिकाउँथ्यो। देशमा लोकतन्त्र गणतन्त्र ल्याउनका लागि रविको कुनै योगदान छैन । रविले न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँथें। वैदेशिक रोजगारीमा गएकाको पीडा भन्दै उनले बार्गेनिङ गर्ने बताइन्छ।
टेलिभिजनबाट राजनीतिक दलमाथि हिलो छ्याप्न थाले। एकदमै अराजक कार्यक्रम चलाउथें, रविले। २०७९ को निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए। उनी चुनाव जितेर आए। त्यसपछि बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी गृहमन्त्री भए।
गृहमन्त्री भएको ३२ दिनमै उनको सबै पद चट भयो । सर्वोच्च अदालतले उनी नेपाली नागरिक नै नभएको ठहर गरेपछि उनको पद खोसियो। त्यसपछि उनी जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगे, नागरिकताको निवेदन लिएर । २०८० वैशाख १० गते सरकारले चितवनमा उपनिर्वाचन गरायो ।
जनताले तिरेको करोडौं रुपैयाँ खर्च भयो । जनताले दोहोर्याएर मतदान गर्नुपर्यो। रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा छ। पाँच वटा जिल्ला अदालतमा उनीमाथि मुद्दा चलिरहेको छ। उनले धरौटी र बिगोबापत झण्डै १० करोड रुपैयाँ अदालतमा बुझाइसकेका छन् ।
त्यत्रो पैसा उनले कहाँबाट ल्याए ? यसको स्रोत देखाउन पर्ने कि नपर्ने ?अरुलाई भ्रष्टाचारी भन्ने उनको देखिने व्यापार,व्यवसाय केही छैन। तैपनि मुद्दा चलेको अदालतमा करोडौं करोड बुझाइरहेका छन्। आउँदो निर्वाचनमा उनले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्।
रविको सहकर्मी शालिकराम पुडासैनीले चितवनमै आत्महत्या गरेका थिए। रविको कर्तुत भिडियोमार्फत खोल्दै उनले आफ्नो ज्यान फालेका थिए। यता,रविको चालकको पनि त्यही ज्यान गएको थियो। विभिन्न मुद्दा लागेको व्यक्तिलाई त्यहाँका जनताले चुनाव जिताए। दुईपटक भोट दिएर पठाए।
यसपटकको निर्वाचनमा पनि उम्मेदवारी दिएका उनी चुनाव जितेपनि सदनमा जान पाउँदैनन्। उनलाई भोट दिनु भनेको जनताले उल्टै दुःख पाउनु हो। त्यति मात्र होइन,जनताले तिरेको कर पनि खेर जान्छ। रवि स्वच्छ छवि भएको व्यक्ति होइनन्। उनीमाथि सम्पत्ति शुद्धिकरण, संगठित अपराध, सहकारी ठगी, दोहोरो नागरिकता र राहदानीको मुद्दा चलिरहेको छ।
उनी कहिले जेल जान्छन् ? कतिखेर उनको पद चट हुन्छ ? थाहा छैन। रविलाई जिताएर पठाउनु जनताले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो। उनले जितेपनि सदनमा गएर जनताको आवाज उठाउन पाउँदैनन्। भोलि फेरि जेल गएभने जनताको दुःख खेर जान्छ। पुनः मतदान गर्दा जनताले तिरेको कर अर्बौं रुपैयाँ फेरि खर्च जान्छ।
भोट हाल्न फेरि घण्टौं लाइनमा गएर बस्नुपर्छ। घण्टीका उम्मेदवार र कार्यकर्ताहरुले पछिल्लो समय बजारमा एउटा चर्चा चलाएका छन्। राजनीतिक दलहरुले ३५ वर्षसम्म केही गरेनन्। रास्वपाबाट उम्मेदवार १३३ जनाले नै काम गरेको होइन ? देशमा भ्रष्टाचार गरेको होइन ?
अहिले रास्वपामा गएकाहरु हिजो काँग्रेस,एमाले,माओवादीकै कार्यकर्ता होइनन् ? ‘जो चोर,उसैको ठूलो स्वर’ भन्ने उखान ठ्याक्कै रास्वपाका कार्यकर्तासँग चरितार्थ भएको छ। रास्वपाका कार्यकर्ताले दिँउसै रात पार्ने काम गरिरहेका छन् । जनता सचेत हुन जरुरी छ। दलालहरु कहिल्यै देश र जनताप्रति जिम्मेवार हुँदैनन्। तिनलाई कसरी भ्रष्टाचार गर्न पाइन्छ ?लुट्न पाइन्छ ? भन्ने मात्र हुन्छ। रास्वपामा यस्ता पात्रहरु धेरै छन्।
