कतारमा रहेको नेपाली दूतावासले भन्यो-घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं। कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो।

कतारी हवाईक्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कतारको सिभिल एभिएसन अथोरिटीको वेबसाइटमा हेर्न अनुरोध गरेको छ।

त्यस्तै, अफवाहपूर्ण सूचना सामग्री तथा घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा नगर्न र भिडभाड हुने स्थानमा आवश्यकताबाहेक नजान पनि अनुरोध गरको छ।

अपरिचित शव वा शंकास्पद वस्तुनजिक नगइदिन पनि दूतावासले अनुरोध गरेको छ। सुरक्षितसाथ घरभित्रै बसिदिनुहोला तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहोला,दूतावासले भनेको छ।

दूताबासले मोबाइल फोन पूर्ण चार्जमा राख्नुका साथै केही नगद र महत्त्वपूर्ण परिचयपत्र पनि आफूसँग राख्न आग्रह गरेको छ।