सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

रुपन्देही। रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो। राति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा परी देवदह–५ निवासी २८ वर्षीय सुनिल पाण्डे गम्भीर घाइते भएका थिए।

देवदह मेडिकल कलेज, भलुही पुर्याइएकामा उपचारका क्रममा पाण्डेको मृत्यु भएको प्रहरी निरीक्षक भीमसेन विष्टले जानकारी दिए।

उक्त दुर्घटनामा परी स्कुटर चालक देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । उनको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।