सर्लाही ३ का रास्वपा उम्मेदवार कलवार पनि कालो सूचीमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्लाही–३ मा उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ।
०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी बनेका साह यसपटकको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका थिए।
कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको पाइएको हो । जुन अद्यावधिक कायम छ। उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको८९६३५नम्बरमा छ ।
सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले कलवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहे नरहेको विषयमा अनुसन्धान भइरहेको बताए।
यद्यपी, कलवारको विषयमा अहिलेसम्म आयोगमा उजुरी नपरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
यसअघि आयोगले कालोसूचीमा रहेका धनुषा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको थियो।
