बहुमतको बाटोमा रास्वपा,कसको कति सीटमा अग्रता ?
काठमाडौं । बिहीबार देशभर भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। मतगणनाको प्रारम्भिक रुझानमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अघि बढेको छ ।
मध्यरातबाट सुरु भएको मतगणनाको बिहान ९ बजेसम्मको अपडेटमा रास्वपा कम्तीमा ४२ निर्वाचन क्षेत्रमा फराकिलो मतसहित अग्रता लिइरहेको छ । काठमाडौंका १५ मध्ये १४ क्षेत्रमा रास्वपाले अग्रता कायमै राखेको छ । त्यस्तै सभापति रवि लामिछाने, बरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहितका उम्मेदवारले पनि अग्रता लिइरहेका छन्।
गणना जारी रहेका क्षेत्रमा एमालेले ५, कांग्रेसले ५ र नेकपाले १ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्। श्रम संस्कृति पार्टीले पनि एक सीटमा अग्रता लिएको छ। अहिले मतगणना भइरहेका अधिकांश निर्वाचन क्षेत्र काठमाडौँ उपत्यकासहित तराई र सहरी क्षेत्रका छन्।
पहाडी र हिमाली जिल्लाको मतगणना आज बिहानबाट अधिकांश ठाउँमा सुरु हुँदैछ । रास्वपाले अग्रता लिएका क्षेत्रको मतान्तर निकै फराकिलो छ भने अन्य दलको अग्रता झिनो मतले देखिन्छ।
