पछि परे एमालेका चर्चित उम्मेदवार,रास्वपा हाबी
काठमाडौं। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका प्राय सबैजसो चर्चित नेता पछि परेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन्। रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ। तिलोत्तमा वडा नं १ को मतगणना सकिँदा रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६०९ मत पाएका छन्।
नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ र नेपाली कम्युनिष्ट पार्टीका सुभास पाण्डे ९विश्वदीप०ले ३५ मत पाएका निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । रुपन्देही २ मा एकलाख ३५ हजार ५० मतदाता छन्।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन्। यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन्। रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन्।
दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन्। उनले ४१२ मत प्राप्त गरेका छन्। तेस्रोमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन्। बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो।
भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि परेका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले निरन्तर मत अगाडि बढाइरहेका छन्। बिहान ५ बजेसम्मको मत गणना अनुसार खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन्। उनीहरूलाई नेपाली कांग्रेसका कबीर रानाले १७४ मत सहित पछ्याइरहेका छन्।
