रास्वपाको खाता खुल्यो,काठमाडौं-१ मा रञ्जु दर्शना विजयी
काठमाडौं । २१ वर्षको उमेरमा काठमाडौंको सडकमा ‘नेपाल बन्द’ को विरुद्ध उभिएर चर्चामा आएकी रञ्जु दर्शना अन्ततः ९ वर्षको निरन्तर संघर्षपछि देशको सर्वोच्च नीति निर्माण तह (प्रतिनिधिसभा)मा पुग्न सफल भएकी छन्। बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उनले सानदार जित दर्ता गरेकी हुन् ।
अन्तिम मतपरिणाम अनुसार रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएर दोस्रो स्थानमा चित्त बुझाए भने राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो भए।
मैतीदेवीकी स्थायी बासिन्दा र स्नातक तहसम्म अध्ययन गरेकी रञ्जु वैकल्पिक राजनीतिको वकालत गर्दै १७ वर्षकै उमेरमा २०७० सालदेखि विवेकशील नेपाली पार्टीमार्फत राजनीतिमा जोडिएकी थिइन्। त्यसबेला राजनीतिक दलहरूले गर्ने ‘नेपाल बन्द’ ले नागरिकलाई दिएको सास्तीविरुद्ध ‘बन्द बहिष्कार अभियान’ सञ्चालन गरेर उनले आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् ।
राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय उनी २०७२ सालको महाभूकम्पपछि राहत र पुनस्र्थापना कार्यमा अहोरात्र खटिइन्। भ्रष्टाचारविरुद्ध डा। गोविन्द केसीले सुरु गरेको सत्याग्रहमा पनि रञ्जु सहयोगी भूमिकामा अग्रपङ्क्तिमा देखिने गर्थिन् ।
उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो मोड २०७४ सालको स्थानीय तह निर्वाचनमा आयो । मात्र २१ वर्षको उमेरमा ‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाऔँ’ भन्ने नारासहित महानगरको मेयर पदमा उम्मेदवारी दिँदा उनले २३ हजार ४३९ मत प्राप्त गरी राष्ट्रिय चर्चा कमाएकी थिइन् । यद्यपि, त्यसबेला उनी तेस्रो स्थानमा सीमित भइन् ।
पार्टीभित्रको आन्तरिक कलहका कारण २०७८ मा विवेकशीलबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहेकी रञ्जुले २०७९ को निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन् । तर, उक्त चुनावमा जम्मा ६०० मत मात्र पाएर उनी पराजित भइन् ।
हारबाट विचलित नभई अघि बढेकी रञ्जु केहि समय अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेकी थिइन् । अन्ततः रास्वपाकै उम्मेदवार बनेर काठमाडौं–१ बाट चुनावी मैदानमा उत्रिएकी उनले यसपटक संसद्को ढोका खोल्न सफल भइन्। सडकको आन्दोलन र नागरिकका सास्तीलाई नजिकबाट नियालेकी रञ्जुको यो जितलाई वैकल्पिक राजनीतिको निरन्तरता र सफलताको रूपमा हेरिएको छ
