मतदाताको फैसला स्वीकार्य,रास्वपाको उदय अप्रत्याशित होइन: विश्वप्रकाश शर्मा
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम र जनमतलाई सहज रूपमा स्विकार्ने बताएका छन्। बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता लिइरहेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
आज सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मतदाताको फैसला शिरोधार्य हुने उल्लेख गरेका छन्। विगतको सशस्त्र द्वन्द्व र ‘बुलेट’ को राजनीतिबाट उदाएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा स्वागत गर्दा देखाइएको संयमतालाई स्मरण गर्दै उनले अहिले ‘ब्यालेट’ (मतदान)बाट आएको रास्वपालाई पनि सोही रूपमा स्वागत गर्ने बताए। उनले लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ। बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत।
उनले यो परिणामलाई वि.सं. २०७९ सालकै निर्वाचनले दिएको संकेतको निरन्तरताका रूपमा चित्रण गर्दै यसलाई अप्रत्याशित नभएको बताए। नयाँ शक्तिप्रति जनताको ठूलो आशा रहेको भन्दै उनले त्यो उत्साह निराशामा बदल्न नहुने सुझाव समेत दिएका छन्। मुलुकको मुख्य र साझा प्रश्नहरूमा आफ्नो दलको साथ रहने तर जनहितका विषयमा खबरदारी समेत गरिरहने उनले स्पष्ट पारेका छन्।
