रास्वपाको जनलहर शान्त विद्रोहको अभिव्यक्ति: बाबुराम
काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ऐतिहासिक जेनजी विद्रोहपछिको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देखिएको देशव्यापी जनलहरलाई शान्त विद्रोहको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यो जनमत सुशासन र समृद्धिका लागि आम जनताले व्यक्त गरेको तीव्र आकांक्षा भएको बताएका हुन्।
नवोदित दलको पक्षमा आएको यो उभारलाई सबै राजनीतिक शक्तिले स्वीकार गर्नुपर्ने उनको ठम्याइ छ। भट्टराईका अनुसार देशमा लामो समयदेखि जकडिएका आन्तरिक अर्थ-राजनीतिक समस्या र बाह्य भू-राजनीतिक चुनौतीहरूको कुशल व्यवस्थापन गर्नु अबको मुख्य कार्यभार हो।
रास्वपा र त्यसको नेतृत्वदायी टोलीले जनताका जायज अपेक्षाहरूलाई छिटोभन्दा छिटो पूरा गर्न सकोस् भन्दै उनले पूर्ण सफलताको शुभकामना दिएका छन्। पुराना दलहरूले जनताको भावना बुझ्न नसकिरहेका बेला रास्वपाको उदयले नेपाली राजनीतिमा नयाँ आयाम थपेको उनको विश्लेषण छ।
नयाँ नेतृत्वका लागि आगामी बाटो चुनौतीपूर्ण रहे पनि जनताको यो अभूतपूर्व म्यान्डेटलाई अवसरका रूपमा बदल्नुपर्नेमा डा। भट्टराईले जोड दिएका छन्। उनले रास्वपाको सफलताले मुलुकको विद्यमान संकट समाधानमा सकारात्मक भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्।
