रास्वपा,कांग्रेस र नेकपाको ६ जना विजयी,एमालेले खाता खोल्न बाँकी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार देशका विभिन्न निर्वाचन क्षेत्रमा अप्रत्याशित र रोचक नतिजाहरू बाहिर आएका छन् । रास्वपाका का उम्मेदवारहरूले देशको विभिन्न ठाउँमा सानदार जित निकाल्दै स्थापित दलहरूलाई स्तब्ध बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी तीन ठाउँ जित निकाल्दा नेकपा एमालेले भने अहिलेसम्म खाता समेत खोल्न सकेका छैनन् । यता, नेपाली कांग्रेसले दुई ठाउँमा जित निकाल्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एक ठाउँमा जित निकालेको छ ।

कुन ठाउँमा को विजयी  

१-रुकुमपूर्वबाट नेकपाले खोल्यो खाता

रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।क उनले आफ्ना प्रतिस्पर्धीहरूभन्दा झन्डै तीनगुणा बढी मत ल्याउँदै विजय हासिल गरेका हुन् । अन्तिम मतपरिणामअनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाए । त्यस्तै कांग्रेसकी कुसुमदेवी थापाले पनि ३ हजार ८१ मत प्राप्त गरिन् भने रास्वपाका कुमार थापाले ८१९ मत पाए । रुकुमपूर्वमा कुल १९ हजार १८८ मत खसेको थियो ।

२-काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ सानदार जित

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतान्तरका साथ विजयी भएका छन्। मतपरिणामअनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै जित दर्ता गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पारे। काठमाडौं–८ मा खसेको कुल मतको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत १० प्रतिशतको सीमा पार गर्न सकेनन्। त्यसका कारण उक्त क्षेत्रमा प्रतिस्पर्धा गरेका सबै २१ जना पराजित उम्मेदवारको धरौटी जफत भएको छ । श्रेष्ठपछि दोस्रो स्थानमा रहेका नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन् । कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत पाइन्।

३-कठमाडौं एकमा रञ्जु दर्शना को जित

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं एकबाट रञ्जु न्यौपाने दर्शनाले भारी मतान्तरले विजयी भएकी छन् । उनी १५ हजार ४५५ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए। अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्र प्राप्त गरे । उनको यो ह्याट्रिक हार हो । यसअघि उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग दुई पटक पराजित भएका थिए।

४- मुस्ताङबाट कांग्रेसले खोल्यो खाता

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचन थकालीले एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा विष्टले १ हजार ८०६ मत पाए । राप्रपाका अद्वितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।

५-काठमाडौं–६ मा शिशिर खनाल विजयी

काठमाडौं क्षेत्र नम्बर ६ बाट रास्वपाका उम्मेदवार शिशिर खनाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए। त्यस्तै एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत, राप्रपाका उम्मेदवार उद्धवराज भेटुवालले २९० मत तथा नेकपाका उम्मेदवार हेमलाल शर्माले २३१ मत प्राप्त गरेका छन् ।

६-मनाङमा पनि कांग्रेसकै उम्मेदवार विजयी

हिमालपारिको जिल्ला मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ भारी मतान्तरले विजयी भएका छन् । कुल खसेको २ हजार २८४ मतमध्ये सदर भएको २ हजार २४४ मतमध्ये गुरुङले २ हजार २३५ मत प्राप्त गरेका छन् ।